वि.सं:
नेपाल संवत: ११४६ पोहेलागा अष्टमी - २३
वनस्पतिको स्व-स्थानीय एवम् पर-स्थानीय संरक्षण, अध्ययन अनुसन्धान, प्रदर्शनी तथा मनोरञ्जनात्मक उद्देश्य राखी स्थापना गरिएको जीवित वनस्पतिको संग्राहलय नै वनस्पति उद्यान हो। वि.सं. २०१९ साल कार्तिक १२ गते राजा महेन्द्रबाट समुद्घाटन भएको शाही वनस्पति उद्यान वि.सं. २०६३ साल आषाढ १९ गते राष्ट्रिय वनस्पति उद्यानको रुपमा नामाकरण भएको हो। यस उद्यानको प्रारम्भिक ल्याण्डस्केप डिजाइनर व्रिटिस वैज्ञानिकद्वय जि.ए.सि. हर्कलट (सन् १९६१-१९६२) र टोनी सिलिङ्ग (सन् १९६५-१९६६) हुन्। यस उद्यानको प्रमुख उद्देश्य भनेको वनस्पति संरक्षण, अध्ययन अनुसन्धान, प्रदर्शनी र आगन्तुकहरुको लागि आमोदप्रमोद स्थलको रुपमा विकास गर्ने हो।
करिब ८२ हेक्टर क्षेत्रफलमा फैलिएको यस उद्यानको ४० हेक्टर क्षेत्रफलमा ३० वटा विभिन्न थिमेटिक वाटिकाहरु रहेका छन्। उपोष्ण पर्यावरणीय क्षेत्रमा रहेको यस उद्यानमा उत्तिस-चिलाउने-कटुसको प्राकृतिक जंगल रहेको छ। यस उद्यानमा संरक्षित वनस्पतिहरुले वानस्पतिक विविधताको साथै अध्ययन अनुसन्धानमा समेत सहयोग पुर्याएका छन्। उद्यानमा १२८५ भन्दा बढी प्रजातिका रुख, बुट्यान, पोथ्रा र लहरा देखि सुनाखरी, जडीबुटी, सिंउडी, उन्यू एवम् अन्य शोभनीय वनस्पतिहरु संरक्षण गरिएको छ। यस वनस्पति उद्यानको मानक चित्र (लोगो) खिरौले, वन लसुन (नेपाली लिली) हो जसको बैज्ञानिक नाम Lilium nepalense D.Don हो।उद्यानबाट संचालित क्रियाकलापहरु विशेष गरेर वनस्पति संरक्षण, अध्ययन अनुसन्धान र उद्यान विकासमा केन्द्रित रहेका छन्।